Get the Flash Player to see this player.
 
Alternative Players:
News
पर्यटकीय दृष्टिमा बौद्व स्तूपा
 पर्यटकीय दृष्टिमा बौद्व स्तूपा

 मीरा श्रेष्ठ, काठमाडौँ पुष २- काठमाडौँ उपत्यकाको उत्तरतर्फ बौद्वमा अवस्थित बौद्व स्तूपा अघिल्लो दिनदेखि प्रभावित मौसमबाट अलग रहन सकिरहेको थिएन । 

समय सूचकको अनुसार दिउँसोको साढे २ बजेको हुँदो हो, स्तूपाको उत्तरतर्फ रहेको तामाङ गुम्बामा कालो वर्णकी विदेशी मूलकी केटी सिमसिम पानीमा रुझ्दै स्तूपाको पूर्ण रुपलाई आँखाभरि कैद गर्ने ध्याउन्नले स्तूपा अवलोकन गरिरहेकि देखिन्थिन् ।
“कति चाँडै चौहत्तर दिन बितिसकेछन्, हिजै जस्तो लाग्छ नेपाल आएको । नेपाल अनि नेपाली वास्तवमै राम्रा रहेछन् । यहाँ आउनुअघि नेपालको बारेमा व्यापक बयान सुन्थे र यहाँ आएर प्रत्यक्ष महसुस गर्न पाउँदाको रौनक नै अझ विछट्टको भयो”, यसो भनिरहँदा उनका आँखामा सन्तुष्टि देखिन्थ्यो । 
आफ्नो प्रेमीसँग नेपाल भ्रमणमा आएकी इमिली गोमिस पुनः नेपाल आउनृ इच्छा व्यक्त गर्दैथिन् । मंसिर २८ गते साँझ ८ बजे स्वदेश फिर्ने तयारीका रहेकी उनी बौद्घनाथ स्तूपालाई अर्कोपटक नेपाल नआएसम्मका लागि मानसपटलमा कैद गर्ने हेतु पानीमा रुझेरै भएपनि स्तूपा परिक्रमा गर्न आएकि थिइन् । “नेपालमा अझैपनि आधुनिकताले शासन गरिसकेको छैन । अझै पनि यहाँ विभिन्न परम्परा कायमै छन् र मलाई यहाँको धार्मिक तथा साँस्कृतिक विविधता एकदमै राम्रो लाग्यो । संस्कृतिको अध्ययन गर्न निकै नै रमाइलो र उत्साहजनक हुनेछ”, उनले बताइन् ।
इमिलि जस्तै अन्य विदेशी तथा स्वदेशी पर्यटक पनि बौद्घनाथ स्तूपाको भ्रमणका लागि आएका थिए । भारतको वेष्ट बेङ्गालबाट चार जनाको समूहमा आएकि श्रीमती यम नन्दी पनि स्तूपाको रौनकलाई ध्यानपूर्वक नियाल्दै थिइन् । पहिलो पटक नेपाल भ्रमणमा आएकि नन्दीले स्तूपा आकर्षक लागेको बताइन् ।
त्यस्तै, अमेरिकाबाट आएकि लिसा ब्ल्याक्मेरले स्तूपा आकर्षक रहेको र गेष्ट हाउसबाट पनि राम्रो सुविधा प्राप्त भएको बताइन् । “स्तूपा कलात्मक छ र म यहाँ हुनुको पूराका पूरा आनन्द लिइरहेकि छु । यहाँको वातावरण र व्यवस्थापन पक्ष एकदमै राम्रो छ”, लिसाको भनाइ थियो । यद्यपि भूटानबाट आएकि छिरिङ् वाङ्ग्मोको भनाइ भने इमिलि गोमिस, यम नन्दी र लिसाको भन्दा केहि फरक थियो ।
आफ्नो बुबासँग नेपाल भ्रमणमा आएकी उनले स्तूपा फोहोर भएको सुनेकि थिइन् रे । “हुनत आज स्तूपा राम्रै देखिएको छ । सायद पानी परिरहेकाले पनि होला”, उनले बताइन् । करिब १० दिन जति नेपाल बस्ने योजना बनाएकि उनले सम्रगमा नेपाल राम्रै रहेको बताइन् ।
४३ दशमलव २५ मिटर उचाई भएको, २० फिट व्यास, १ हेक्टर फराकिलो भई ६ हजार ७ सय ५६ वर्ग मिटरको क्षेत्रफलमा फैलिएको स्तूपालाई परिक्रमा गर्न आउने दर्शनार्थीको चाप कायमै थियो । आन्तरिक र बाह्य पर्यटकको मिश्रण, त्यसमा पनि विभिन्न उमेरसमूहका दर्शनार्थी र बहुलभाषीको त्यस जमातले साँच्चै नै नेपाल एक धार्मिक सहिष्णुताको भावलाई अँगालेको देश प्रतीत भइरहेथ्यो ।
विगत ९ वर्षदेखि सुरक्षा गार्डको रुपमा काम गर्दै आएका तीर्थ लामाको भने स्तूपा भ्रमणकर्ताहरुप्रति केहि गुनासो थियो । “यो स्तूपालाई मैले नजिकबाट नियालेको ३७ वर्ष भइसकेको छ । स्वर्गीय गुरु थुचे रिम्बोर्चेको सहयोगार्थ गार्डको रुपमा काम गरेको भने ९ वर्ष भएको छ । विशेषगरी देशी पर्यटकहरुले नै नियम तोडिदिन्छन् । अनुरोध गर्दा पनि मानिदिदैनन् । त्यस्तो अवस्थामा दुःख लाग्छ”, उनले बताए । टुसाल बस्दै आएका ५९ वर्षीय उनले व्यवस्थापनका पाटोमा भने सकरात्मक परिवर्तन आएको बताए । “पहिले खाल्डाखल्डी थिए, तर अहिले तिनको मर्मत गरिएको छ र बौद्घनाथ विकास क्षेत्र समितिले सरसफाईको व्यवस्था पनि गरेको छ”, उनले बताए ।
त्यस्तै विगत दश वर्षदेखि लामा पढ्दै आएकि डोल्मा शेर्पाले पनि दश वर्षको बीचमा केहि सकरात्मक सुधारको महसुस भएको बताइन् । सोलुखुम्बुमा स्थायी घर भएकी उनले म्हानेको सरसफाई गरिएकोमा खुसी व्यक्त गरिन् । “पहिले म्हाने घुमाउन गाह्रो हुन्थ्यो, तर अहिले मर्मत संभार गरेपछि घुमाउन सहज भएको छ । त्यस्तै बस्ने कुर्सीहरु राखिएका छन् र ढुङ्गाहरु राम्ररी बिछ्याइएको छ । राम्रो छ, तापनि कहिलेकाही कुनै पर्वमा अझ भनौ दशैतिहारमा केही केटाहरु आएर हल्ला गरिदिन्छन्, हाम्रो ध्यानमा असर पुग्छ”, डोल्माले दुखेसो व्यक्त गरिन् ।
दर्शनार्थी, पर्यटक सबैको मनोभावना र स्तूपाको आवश्यकतालाई नजिकबाटप नियालिरहेको कुरा बौद्घनाथ क्षेत्र विकास समितिका अध्यक्ष सुवर्ण कुमार लामा बताउछन् । स्तूपालाई व्यवस्थित रुपमा सञ्चालन गर्न भनि २०५३ सालदेखि कार्यरत सो समितिको हालसम्ममा ७ ओटा कार्यकाल गुज्रिसकेको छ । “पहिलेको जस्तो समस्याहरु धेरै छैनन् तापनि कहिलेकाही नगरपालिकाले भूस्याहा कूकूरको व्यवस्थापन नगरिदिदा समस्या आउने गर्दछ । स्तूपा वरिपरि हुने फोहोर नियन्त्रणको लागि हामीले केही कूचिकारको व्यवस्था गरेका छौं । त्यस्तै बौद्घ सरसफाई केन्द«लाई मासिक २० हजार  दिएर फोहोर नियन्त्रणमा सघाई मागेका छौं”, लामा बताउछन् । यस्तै, पर्यटकबाट पनि केहि गल्ती हुने उनी बताउछन् । “भर्खरै मात्र हामीले दुईतीनओटा समस्या झेल्नप¥यो । पर्यटक लजमा बसेपछि विना जानकारी कोठामा ताल्चा मारेर गइदिन्छन् र सम्बन्धित लजधनीले हामीलाई खबर गर्छन् । हामीले पनि आवश्यक कोअर्डिनेट गर्ने हो । त्यस्ता विषय प्रहरीले नै हेर्ने गर्छन्”, उनी बताउछन् ।
समयसमयमा केही समस्या आएपनि समग्रमा पर्यटकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको लामाको भनाइ छ । पर्यटकलाई स्व–सचेत हुन ब्रुसर र ठाउँठाउँमा सूचनाबोर्ड राखेको उनी बताउछन् । समितिले वास्तवमा बौद्घनाथ क्षेत्रको व्यावस्थापनमा पैसा खर्चने भएतापनि समयसमयमा विभिन्न संघसंस्थाले आर्थिक सहयोगको आव्हान गर्न आउने हुँदा समस्यामा पर्ने सुवर्ण कुमारको गुनासो छ । उनी बताउछन्, “तत्कालीन अध्यक्ष दिलीप कुमार लामाज्यूको कार्यकालमा डोनर नदिने निर्णय गरेतापनि हामी हालसम्म नै कुनै न कुनै रुपले डोनेसन गर्दै आइरहेका छौं । खासमा हामीले बौद्घ क्षेत्रलाई मात्रै जोड दिन्छौं । यो त ति संघसंस्थाले बुझ्नपर्ने कुरा हो । यही वर्ष मात्रै स्तूपामा वज्रप्लाष्टरदेखि लिएर म्हानेको सरसफाई गर्नमा करिब ४५ लाख खच्र्यौं । संस्कृति मन्त्रालयबाट वर्षेनी चार या पाँच लाखको आर्थिक सहयोग आउछ तर, त्यो पर्याप्त हुन्न । यसकारण पनि हामीले पर्यटकबाट प्राप्त रकमले कर्मचारीलाई तलब दिनेदेखि लिएर विभिन्न कार्यक्रम गर्छौं ।”
यही वर्षबाट बाह्य पर्यटकबाट लिने शुल्कमा केहि रकम वृद्घि गरेको लामाले बताए । सार्क राष्ट्रका पर्यटकका लागि नेपाली पचार रुपैया र अन्य देशबाट आउने पर्यटकका लागि रु २०० तोकिएको छ । त्यस्तै, बाह्य पर्यटकको लागि शौचालयको व्यवस्था हालै मात्र गरिएको छ । आन्तरिक पर्यटकका लागि भने शौचालय बनाउने कार्यक्रम छ । त्यस्तै, ऐतिहासिक महत्व बोकेको पोखरीलाई केन्द« बिन्दु बनाएर पार्क बनाउने योजना सुवर्ण कुमार लामा समितिको छ । स्तूपा परिसरमा बिछ्याइएका पूराना ढुङ्गालाई विस्थापन गरी नयाँ ढुङ्गा बिछ्याउने कार्ययोजना बनाएको यस समितिले चाँडै नै आफ्ना कार्यक्रम अगाडि ल्याउदैछ ।
स्तूपा परिसरमा राखिएका हिन्दू धर्मका केहि मूर्तिहरुका सन्दर्भमा परम्परागत मान्यता लुकेके हुन सक्ने लामा बताउछन् । “हाम्रो मुुलुक धार्मिक सहिष्णुताको मुलुक हो । हामी यहाँ जुनसुकै धर्मका व्यक्तिलाई प्रवेश गर्न दिन्छौं । तर, केहि समय पहिले क्रिश्चियन धर्मका साथीहरुले स्तूपा क्षेत्रमा प्रवेश गरी आफ्नो धर्मको प्रचारप्रसार गर्नुभयो र बाध्यतावश हामीले उहाँहरुलाई हटाउनप¥यो”, उनले बताए ।
पछिल्लो समयमा विशेषतः युवाजमात बौद्घनाथ स्तूपामा रमाइलोका लागि आउने गरेका देखिन्छन् । यसरी आएर कहिलेकाही हो–हल्ला गरिदिदा वास्तविक रुपमा धार्मिक प्रयोजनका लागि आउने दर्शनार्थी नरमाइलो महसुस गर्छन् । तीनचुलीमा बस्ने छेट्योन शेर्पाले मानिसहरु अनायासै प्रार्थना गरिरहेको समयमा आएर हल्ला गरिदिदा ध्यानमा असर पुग्ने बताउछिन् । “हामी एकचित्तले ध्यान गरिरहेको हुन्छौं । माथिबाट मानिस आएर ठूलो स्वरमा गफ गर्ने, हेरिदिने गर्छन् । अर्को त स्तूपाको माथिल्लो भागमा मानिस गइदिन्छन् । हामीले पूज्ने ठाउँलाई त्यसरी कुल्चिदिदा नरमाइलो लाग्छ”, उनले बताइन् ।
बौद्घनाथ स्तूपाबारे वास्तविक ज्ञान नभएतापनि स्तूपा भ्रमणमा आउदा आफूलाई आनन्द महसुस हुने बौद्घ निवासी निलम भण्डारी बताउनुहुन्छ । “बौद्घप्रति आस्था छ र हामीले यहाँका नियमलाई तोड्नहुन्न । साथीसँग आउदा उनीहरुलाई नियम नतोड्न आग्रह गर्छु । हाम्रा पुर्खाले संस्कृतिको निरन्तरताको लागि यति महत्वपूर्ण सम्पदाको संरक्षण गरिदिनुभएको छ । हामीले पनि तिनको संरक्षणमा सहयोग गर्नुपर्छ”, भण्डारी बताउछिन् ।
बौद्घनाथ विकास क्षेत्र सकितिको अनुसार आर्थिक वर्ष ६६÷६७ यता स्तूपा भ्रमणका लागि आउने बाह्य पर्यटकको सङ्ख्या १२ लाख २५ हजार ५ सय ३९ रहेको छ । त्यसमा पनि सार्क राष्ट्रबाट ४ लाख १६ हजार ३ सय ८४ सङ्ख्यामा पर्यटक स्तूपामा भित्रिसकेका छन् भने अन्य राष्ट्रबाट ८ लाख ९ हजार १ सय ५५ को सङ्ख्यामा पर्यटक स्तूपामा आएको तथ्याङ्क छ ।
स्तूपाको संवद्र्घन र संरक्षणमा बौद्घनाथ बिकास क्षेत्र समिति तथा बौद्घ घ्याङ् गुठी समाज लगायत संस्था कार्यरत छन् । सर्वसाधारणले पनि स्तूपाको संवद्र्घनमा सहयोग गरे स्तूपामा अझ बढी पर्यटक भित्र्याउन सकिनेछ । सन् १९७९ मा विश्व सम्पदाको सूचीमा समेत परेको बौद्घ स्तूपाको व्यवस्थापनमा बौद्घनाथ बिकास क्षेत्र समिति दतचित्त भई लागिपरेको समितिका अध्यक्ष सुवर्ण कुमार लामा बताउछन् ।
ON AIR
Hangla Karsyol
UP NEXT
Gorkha Bulletin
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television