Sports News
श्रीलंकामा जारी पहिलो दक्षिण एसियाली बिच खेलकुदमा आज नेपालले विभिन्न चार खेलमा प्रतिस्पर्धा गर्ने

श्रीलंकाको ह्याम्बनटोटामा जारी पहिलो दक्षिण एसियाली बिच खेलकुद प्रतियोगिता अन्तर्गत आज नेपालले विभिन्न चार खेलका प्रतिस्पर्धा गर्दैछ । नेपालले आज बास्केटबल, भलिवल, कबड्डी र ह्याण्डबलमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।  

नेपालले आज महिला भलिबलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । यसैगरी आज ह्याण्डबलमा नेपालले पाकिस्तान र श्रीलंकासँग खेल्दैछ । यस्तै आजै कबड्डीको महिला तथा पुरुषमा पनि नेपाल खेल्दैछ । प्रतियोगितामा हालसम्म चार पदकका साथ नेपाल दोश्रो स्थानमा रहेको छ ।

साफ च्याम्पियनसिप तयारीका लागि विदेश भ्रमणमा रहेको नेपालले आज फिलिपिन्ससँग पहिलो खेल खेल्दैछ । अन्तराष्ट्रिय फुटबलमा प्रवेश गरेको तीन दशक पुग्न लागेको समयमा नेपालको यो पहिलो औपचारिक खेल हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका रुपमा अन्तर्राष्ट्रिय फुटबल महासंघबाट मान्यताप्राप्त उक्त खेल आज अपरान्ह पौने ५ बजे रिजल मेमोरियल स्टेडियम फिलिपिन्समा हुँदैछ । साफ च्याम्पियनसिप तयारीका लागि महिना दिन लामो आसियान क्षेत्रको भ्रमणका क्रममा गत नेपाली टोली गत आइतबार फिलिपिन्स पुगेको छ ।

अर्कोवर्ष काठमाडौंमा हुने च्यालेन्ज कपमा नेपाल र फिलिपिन्स दुवै छनौट भइसकेका छन् । नेपालको यो छैठौं मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हो ।  भुटानविरुद्ध सन् २००९ मा भारतको कोलकत्तामा भएको खेलयता यो विदेशी भूमिमा नेपालले खेल्न लागेको दोश्रो मैत्रीपूर्ण प्रतिस्पर्धा हो । नेपालले अहिलेसम्म खेलेका पाँच मैत्रीपूर्ण अभ्यास खेलमध्ये चारमा जित हात पारेको छ । उता फिलिपिन्स भने सन् १९९७ यता पहिलो पटक मैत्रीपूर्ण खेल खेल्दैछ ।

आजको खेलमा नेपाल रातो तथा फिलिपिन्स नीलो जर्सी लगाएर मैदान उत्रिदैछ । फिफा वरियतालाई आधार मान्ने हो भने फिलिपिन्स भन्दा नेपाल बलियो देखिन्छ । नेपाल वरियताको १ सय ३५ औं र फिलिपिन्स १ सय ६६ औं स्थानमा रहेका छन् । यसैगरी एसीयाली फुटबल महासंघ एएफसीको वरियतामा नेपाल २० औं र फिलिपिन्स ३३ औं स्थानमा रहेका छन् । आजको खेलमा फिलिपिन्सलाई पराजित गर्नेमा नेपाल ढुक्क देखिएको छ, उता फिलिपिन्स पनि घरेलु मैदानको फाइदा उठाउँदै जित आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ । नेपालले फिलिपिन्ससँगै मलेसिया, कम्बोडिया र थाइल्याण्डसँग पनि मैत्रीपूर्णं खेल खेल्दैछ ।

Posted On: 11-10-2011

Online radio
More News